Thursday, February 18, 2016

सुत्रबद्ध शासन



मौलिकताको आवाज
तिमीबाट जस्तो निस्किन्छ
मबाट नि त्यस्तै निस्किन्छ
समुद्रबाट उकुसमुकुस भएर बाफहरु
तिम्रो शिरमाथिको
आकाशमा जसरी बादल बनि
स्वतन्त्र उड्छन् त्यसरी नै उड्छन्
मेरो शिरमाथीको आकाशमा
निरङ्कुशताले जकडिएको तिम्रो शासन
जसरी हरेक दिन सास लिन्छ
गरिब किसानले हुर्काएको विरुवाबाट
त्यसरी नै सास लिन्छन् उनीहरुको सन्तानले
विचारको आलीमा बसेर
र छर्छन्
जिन्दगीको बारीभरि स्वतन्त्रताको विउ
र सिञ्चित हुन्छ
नयाँ जोस नयाँ आवेगका पसिनाहरुले
फुल्दछ हरेक दिन त्यहाँ
आलीमा बसेकाहरुको लागि
सुन्दर फुलहरु
जसरी एउटा इमान्दार क्रान्तिपछि
उदाउँछ स्वतन्त्र दिनहरु
समय अनुसार जनताका तन्त्रहरुको
परिभाषा फेरिन्छन्
हिजो प्रजातन्त्र थियो
आज गणतन्त्र छ
आखिर तन्त्र त
जनतामाथिको सुत्रबद्ध शासन न हो ।

No comments:

Post a Comment