Wednesday, February 10, 2016

लिसन टु द साउन्ड अफ साइलेन्स


आवाज बिहीन आवाजमा जीवनको पूरै कोलाहल हुन्छ तर शान्त हुन्छ । समुद्र जस्तै, हिमाल जस्तै, ताराहरु जस्तै, फुलहरु जस्तै , पुरै सहर छोप्ने हुस्सु जस्तै । शान्त हुस्सुले अस्तव्यस्त सहरलाई छोपेको छ । हुस्सुभित्र लुकेर गाडीहरु पेट्रोल, डिजेलको लाइनमा छन् । एक कप चियाको बाफसँग मान्छेको जाडो उड्दै छ । तिनकुनेको चौरमा सात जना सात कुना पारेर बसेका छन् । एउटा ट्राफिक, एउटा पागल, ड्राइभर, खलासी आदि । प्लाष्टिक र कागज बालेर तापिरहेछन् त्यो दिनको दिनचर्या । म बसको अन्तिम सिटमा छु ।  बस रुइँकिएको छ रिंगरोड घुम्न । मेरो स्टेसन हो गौशला । जहाँ महादेवको स्टशन छ पशुपति । ईश्वरको भव्य स्टेशनलाई पछि पार्दै म हिँड्छु अफिसतिर मान्छेहरुको भिडको आवाज छिचोल्दै । 
शिल्पी बाहिर नै भेट भयो कुमार सर र युवराज दाईलाई । एक हप्ता अगाडि गरेको छुट्टीको कुरालाई अगाडि बढाए । उहाँहरुबाट तिनदिनको छुट्टीको स्वीकारुक्ति आयो । तिनदिनको छुट्टीलाई कसरी र कहाँ विताउने योजना बनेको थिएन दिमागमा । के गर्ने होला ? अन्योलमा परे । त्यसपछि एक जना साथीलाई फोन लगाए । उसको समय अलि व्यस्त भएको जानकारी आएपछि मन झन अन्योलमा पर्यो । एकै छिनको सोचपछि पोखरा एक्लै घुम्ने निर्णय गरे । अफिसको कामहरु हतारहतार सकेर साँझमा पोखरा जाने माइक्रो समात्ने ध्याउन्नमा मन जान थाल्यो । मनले माइक्रो नसमाति पोखरा पुगिसकेको थियो तर यो शरिर लान बाँकि थियो । त्यस्तै एक बजेको हुँदो हो । अर्को साथीको नाटक हेर्न जाने प्रस्तावसहितको फोन आयो । 
आज बेलुका मण्डलामा नाटक हेर्न जाउँ न ।
म भ्याउँदिन होला यार ।
किन भ्याउँदैनौ ? के काम छ र ? 
मेरो पोखरा जाने योजना उसलाई नसनाउँ जस्तो लागेको थियो । मैले उसलाई अर्कै कुराले असफल ढाँट्ने प्रयास गरेँ ।........
हिजो पनि नाटक हेर्न अफिसबाट चाँडै निस्केको थिएँ, सो आज चाँडै निस्कन मिल्दैन ।
के को नमिल्नु आफ्नै अफिस हो मिलाउन ।
हे हे त्यो त हो तर......
अरु कुरा केही होइन भरे नाटक हेर्न गइन्छ । बरु टिकट मिलाउँदै गर ।
हैन, खासमा म पोखरा जान लागेको यार । 
को को ? 
अहिलेसम्म त म एक्लै छु । 
त्यसो भए एक मिनेट पर्ख । म तिमीलाई कलब्याक गर्छु । 
उसले एक मिनेटपछि कलब्याक गर्यो । पोखरासँगै जाने भैयो । उ समेत गरेर तिन जना आउने भए । म एक जना । जम्मा चार जना भयौँ पोखरा जाने । कलंकीबाट माइक्रो चढियो । दमौली आएपछि भने माइक्रोले जामको खेतिको लाइनमा बस्नु पर्यो । हामी पोखरा पुग्ने भनेको निर्धारित समय भन्दा ढिलो पुग्ने पक्का भयो । 
मानिसहरु रातसँग निद्राको सम्झौता गरेर विश्राम गरिरहेको बेला मलाई भने रातको सन्नाटासँग कुुरा गर्न मन लाग्छ । अँध्यारोमा लुकेर चन्द्रामाको सुन्दरतामा मदहोस हुन मन लाग्छ । यस्तै इच्छाले मलाई माइक्रो रोकिएको ठाउँबाट हिँडेर जान प्रेरित गरिरहेको थियो । साथीहरुलाई आफ्नो इच्छा सुनाएँ । एकछिनको आनाकानी पछि सबै जना हिँड्ने भैयो । चिसो रात, पौने बाह्र बजेको हुँदो हो । केही परसम्म गाडीहरु लामबद्ध थिए । अनि थिए लाचार मानिसहरु । चुपचाप चुपचाप । सबै अन्धकार । चार जना गफिदै हिँडेको समय । लाग्थ्यो संसारमा हामी चार जना मात्रै छौँ । कुकुरको भुकाइहरु, घरिघरि आएको गाडीको लाइटको उज्यालो, खुल्ला फाँट जस्तो लाग्ने ठाउँमा लागेको बाक्लो हुस्सु । सुनौलो विहानी दिन तम्तयार खटिएको अन्धकार । लाग्थ्यो आत्मालाई बाहिर बोकेर हिँडेको छ शरिर । कति हिँडियो, कुन ठाउँ आइपुग्यो केही थाहा छैन । रातको दुइ बजेपछि हामी फेरि माइक्रो चढ्याँै । त्यतिबेला सम्ममा हामीले दस किलोमिटर हिँडेको रहेछौँ । पोखरा बसपार्क पुग्दा तिन बजेको थियो । पोखरामै भएको साथीसँग भने सम्पर्क हुन सकिरहेको थिएन । उ वाणिज्य बैंकको कर्मचारी भएकोले उसलाई विहानै बैंकमा गएर भेट्न कुरा गर्दै हामी निदाएका थियौँ । पोखरा व्युँझि सकेको थियो । हामी बसपार्कलाई छोडेर पृथ्वीचोक तिर लम्कियौँ । सिधा साथीको अफिस । उसकै अफिसमा उसलाई कुनै सुचना बिना भेट्दा उ भन्ने निक्कै अचम्ममा परेको थियो । उ जति अचम्ममा परेको थियो भन्दा बढि हामी रिसाए जस्तो नक्कलमा थियौँ । हाम्रो रिस बडा मजाको छ । त्यहीँ योजना बन्यो पोखरालाई पुरै घुम्ने । पोखराको शान्ति स्तुपा हाम्रो पहिलो गन्तब्य बन्यो । त्यसपछि फेवाताल, डेभिस फल, बेग्नासास ताल । बेगनास तालमा चाहिँ आफै डुंंगा चलायौँ । पहिलो चोटि आफै डुंगा खियाउँदा निकै रमाइलो लागेको थियो । नियन्त्रण गर्न निकै गाह्रो । आफ्नै जिन्दगी हिँड्ने साधनको नियन्त्रण गरे जस्तै । कति गाह्रो छ आफ्नो जिन्दगीलाई गन्तब्यसम्म खियाउन । संसार एउटा विशाल ताल न रहेछ । अनि जिन्दगीहरु डुंगा रहेछन् । हामी डुंगा खियाउने माझी । जिन्दगीको चाल पहिल्याए एउटा बाटो पकड्ने रहेछ यात्राले नभए अल्मलिएको अल्मलियै हुने ताल विच । डर, त्रास, समस्या आदि आदि बोकेर । 
खासमा म पोखरा एक्लै जान खोज्नुको कारण थियो । म यात्राभरि आफैसँग र प्रकृतिसँग गफिदै प्राकृतिक जिवनको रसस्वादन गर्न चाहान्थे । जिवनको अध्यात्म खोज्न चाहान्थे । साथीहरुसँगै भएपनि मेरो आत्मा प्रकृतिसँग रमाईरहको थियो । साथीहरुसँग भन्दा आफैसँग बढि गफिएको थियो । जब साथीहरुसँगै म शान्ति स्तुपा पुगेँ । त्यहाँ लेखिएको थियो । लिसन टु द साउन्ड अफ साइलेन्स । मन छोयो । कस्तो राम्रो । लिसन टु द साउन्ड अफ साइलेन्स । मैले मेरो पच्चीस सय वर्ष अघिको मित्र सम्झिएँ । गौतम बुद्धलाई । हे मेरो लगायत सबैको इश्वर बुद्ध सम्बन्धको विसंगतबाट व्युँझेपछि मैले तिमीलाई मित्र भनेको छु । हुन त मित्रताको परिभाषा, भाषा, आसा, प्रभाव, अभावको त्यति गहिरो ज्ञान छैन मलाई । २५ सय वर्ष अघि जन्मेको तिमी भगवान भैसकेको छौ । जिन्दगीको शुन्यतामा शुन्यसरि विलाउन दरबार छोडेर हिँडेको साधारण मानिस थियौ तिमी । आज म तिमी जन्मिएको २५ सय वर्षपछि जन्मिएको छु । २५ सय वर्ष अघिको साधारण मानिस तिमी २५ सयवर्ष वित्दा भगवान भएको इतिहास साक्षी राख्दै तिम्रो मित्र अर्थात मेरो जन्म भएको हो । शुन्यमा शुन्यसरि हुन मन लागेको छ । साउन्ड अफ साइलेन्स सुन्न मन लागेको छ । त्यसकै खोजिमा छु निरन्तर । तिम्रो संगत गर्न अब तिमी छैनौ । तिमीलाई थाहा छैन तिम्रो सन्यासी प्रतिमाहरु महल भित्र छन् । सांसारिक भ्रम तिव्र भएको छ मानिसहरुमा । अज्ञानताको बादलले ढाकेको छ जगतलाई । म त्यही बादल मुनि अन्योल जिन्दगी लिएर उभिएको छु । थाहा छैन जुनबेला नि वर्षन सक्छन् अज्ञानताका बादलहरु मेरो चेतनाको जगतमा र जिन्दगी उभिनसक्छ निथ्रुक्क भिझेर मृत्युको अगाडि । डर लाग्छ आजकाल मृत्युले जिन्दगीलाई गिज्याउँछ भनेर । चट्टान भन्दा नि कडा छ सांसारिक अज्ञानतको पर्खाल । मानिसहरु मिथ्या ठान्दछन् जिन्दगीको शुन्यतालाई । हे मित्र तिमी कहिँ कतै छौ होला यो विशाल ब्रहमाण्डको शुन्यतामा । तिमी छक्क परिरहेको छौ होला तिमीलाई मित्र भनेर सम्बोधन गरिरहँदा । तिमी जस्तै छक्क परेको छ यो समाज । २५ सय वर्ष अघि र पछि जन्मेका मानिस कसरी मित्र हुन सक्छन् ? मित्र हुन त संगत चाहिन्छ । तर मैले तिमीसँग विसंगतको संगत गरेको छु । त्यही भएर त महसुस गर्नसक्छु । तिम्रो शान्ति स्तुपामा लेखिएको लिसन टु द साउन्ड अफ साइलेन्स । हो यतिबेलै मैले सुनेको थिएँ तिम्रो र मेरो सम्बन्धको आवाज । अनि मैले सुन्न थालेको थिएँ, माछापुच्छ्रे र फेवातालबीचको संवाद । लगत्तै मेरो मनभरि गुञ्जिएको थियो त्यस्तो आवाजहरु जसको आवाज हुँदैन । लास भएको मानिसबाट आउँदै थियो जिन्दगीको आवाज, घरबाट आउँदै थियो बन्धनहरुको आवाज, चिताको अग्निबाट आउँदै थियो जिन्दगीको गतिको आवाज, रातको अन्धकारबाट आउँदै थियो सन्नाटाको आवाज, फुलहरुबाट आउँदै थियो सुन्दरताको आवाज, पन्छीहरुबाट आउँदै थियो स्वतन्त्रताको आवाज, मुर्तिहरुबाट आउँदै थियो मृत इश्वरको आवाज । यी आवाजहरुको कुनै सांसारिक कोलाहल हुँदैन । अक्सर यी आवाज सुन्नेहरु फकिर हुन्छन् । बादल, हावा, नदि जस्तै फकिर यात्री हुन्छन् । आवाज विहीन आवाजमा जीवनको पुरै कोलाहल हुन्छ तर शान्त हुन्छ । हिमाल जस्तै, समुद्र जस्तै, ताराहरु जस्तै । तिम्रै स्तुपाहरुमा लेखिएको, तिम्रै मनमा लेखिएको, तिम्रै आत्मामा लेखिएको लिसन टु द साउन्ड अफ साइलेन्स जस्तै । शुन्यमा शुन्यसरि..............

No comments:

Post a Comment