Monday, April 4, 2016

यादहरु


ए ! ए !
पुराना यादहरु आए
वनका पुराना पातहरु उडाउँदै आए
पदछापका धुलोहरु उडाउँदै आए
सुदुर क्षितिजका बादलहरुलाई
कालोनिलो बनाउँदै आए
जस्तो कि म त्रासमा हुँदा
मेरो अनुहार थियो ।
पसिना निस्केका थिए
जिन्दगी देखेर जिन्दगीकै त्रासमा
आए फेरि आए
हरेक एक एक बुंद जोडिएर
झरी बनेर आए
ए ! ए !
पुराना यादहरु आए
सहनै नसक्ने गरि आए
खहरैझैँ उर्लिएर आए
मुस्कानले बाँधेका बाँधहरु
भत्काउने गरि आए
देख्दै गरेको संसार बगाउने गरि आए
भविष्यका उज्यालाहरु
धमिलो हुने गरि आए
ए ! ए !
पुराना यादहरु आए
जति नआओस भन्छु
उति आउँछ
आकाशमा बादलका आकृतिहरुमा
दिनदहाडै बोक्सी भनेर
सभ्यताको आची खुवाइएको
ममता दिँदादिँदा खुम्चिएको
ममतामयी आमाको मुहारको यादहरु आए
सहरका कोलाहलहरुमा
सडक बालक र सेभ द चिल्ड्रेनका
भोका आवाजहरु आए
पत्रिकाका पानाहरुमा
उहिल्यै श्री ३, श्री ५ हरुद्वारा
हिजोअस्ति सामूहिक बलत्कृत
निश्चल बालिका, युवतीहरुको चित्कार आए
मान्छेका मास्क लगाएका अनुहारहरुले
श्री ५ आउनु भन्दा अगाडिका
यादहरु आए
ए ! ए !
पुराना यादहरु आए
कसैले त रोकिदियोस्
यी यादहरुलाई
आजकाल म
लोकतान्त्रीक राज्यको सडकमा बसेर
विभत्स यादहरुको चिता जलाइरहेको छु ।

No comments:

Post a Comment