Wednesday, December 30, 2015

नाट्य यात्राको अनुभव


दिनहरुमा यात्रा गरेकि यात्राहरुले दिन कटायो यो भन्न मुस्किल छ । खैर एउटा नाट्य यात्रा सुरु भयो शिल्पीबाट । राजधानीमा चिसोले जिस्कीन सुरु गरिसकेको थियो । हामी मान्छे पनि कम कहाँ थियौँ र हातमा पञ्जा, टोपी ज्याकेटले चिसोसँग लुकामारी खेल्थ्यौँ । लुकामारी जिन्दगीमा विभिन्न किसिमले हुन्छ । जिन्दगी रितुहरुसँग खेलिरहेको बेला हल्लियो जमिन, काँप्यो घर, काँपे मन मुटुहरु । त्रासका चित्कारहरुले गुञ्जियो राजधानी अनि गुञ्जियो पाखापखेराहरु । बालक, युवा, बृद्धा जो कोही परे मृत्युको महामेलामा । एकपललाई मृत्युको बजार राम्रै चल्यो । मृत्यु अझै बजार विकास खोजी रहेको थियो हामी जीवन खोजीरहेका थियौँ । समाचारहरु दगुर्न थालका थिए राजधानीको धरहरादेखि बारपाकको केन्द्रविन्दुसम्म । कतै च्यापिएका मृत मानिसहरुको तस्विर बोकेर । कतै च्यापिएका जीवित मानिसहरुको तस्विर बोकेर । कतै भग्नावशेषमाथि बगेको आँसुको भेलको तस्विर बोकेर । नागरिक, कान्तिपुर, अन्नपूर्ण भ्याइनभ्याइ दगुरे । गाउँ र सहरको संगीत भनेको एम्बुलेन्सको साइरन मात्र थियो । देश दर्दनाक कोलाजको परिस्थितीमा जिउँदो शालिक बनेको थियो । जनता देशभित्रै विस्थापित भए । कहाँ कहाँ विस्थापित भए सरकार बेखबर थियो । हरेक दिन पत्रिकामा भत्केका मठ मन्दिर घरका तस्विर आउँथे । भत्केको समाजको तस्विर कहाँ छापियो र ? घरभित्रै व्यक्ति विस्थापित भयो । समाजभित्रै घर विस्थापित भयो । देशभित्रै समाज विस्थापित भयो । विस्थापित भएका पिडीत जनताहरुलाई सरकारले माग्नेलाईझैँ एक मुठी चामलको आश्वासन दियो । विचरा सरकार अलि भावनामा बहकिएछ कि के हो यथार्थलाई बुझ्न सकेन । आठ महिना अर्थात दुइ सय चालीस दिन सरकार चामल केलाएर बसिरह्यो । परिणाम स्वरुप राजधानीमा भात पाक्छ तर ग्यासको सट्टा दाउरा बल्छ । पाखापखेरामा पनि दाउरा बल्छ तर भात पाक्दैन । समस्याको खेती व्यापक रुपमा फैलियो । जताततै समस्यै समस्या हुन थाले । 
चोरी, डकैती, बलत्कार, हत्या आदि समस्याको खेती गर्दै यहाँसम्म चलिआएको हाम्रो समाज । अझै पनि हाम्रो समाज चिन्तनलाई बलत्कार गरेर सुँगुरको स्वर्ग जाने कथनमा आदर्श खोजिरहेको छ । भूकम्पको धक्का घरको भित्तादेखि मनमस्तिष्कको भित्तासम्म ठोकिएको थियो । पिडामा मानिसहरु सहयोगी बनेका थिए । एक प्रकारको व्यवहारिक आदर्श भावनाहरु जागृत भएको थियो । लाग्थ्यो यो भावनाले सिर्जीत नयाँ समाजको संरचना पक्कै राम्रो हुन्छ । तर भावनाहरु हराए । समस्या जस्ताको तेस्तै छ । 
म भन्दै थिएँ चिसोले राजधानीलाई छोपेको छ । असलमा चिसोले सम्पूर्ण देशलाई छोपेको छ । तर भत्किएका घरहरुले, मन भत्किएका बाबुआमाले आफ्नो छोराछोरीलाई न्यानोपनले छोप्न सकेका छैनन् । सरकार भने मधेस आन्दोलनको आवेगले तातिएको छ । न मधेस आन्दोलनलाई सहीबाटो दिन सकेको छ सरकारले न चिसोले काँपेका जनतालाई न्यानो बाँड्न सकेको छ । सरकारले गरेको छ त केवल आश्वासनको खेती । त्यही आश्सनको खेतीमा झिनो आसाको त्यान्द्रो बोकेर टोलाईरहेकाहरुलाई आत्मबल र हौसला दिन तयार गर्यौँ हामीले त्रिपाल नाटक । शिल्पी र सेलो थिएटरको साथीहरु मिलेर नाटकद्वारा गर्न सकिने सामाजिक क्रान्तिमा निस्कन तयार भयौँ । हाम्रो उद्देश्य थियो अनुहारमा हाँसो ल्याउनु र पुर्ननिर्माणको लागि हौसला र आत्मबल दिनु । हाम्रो नाटक कचहरी शैलीको थियो । जहाँ समस्या देखाइन्छ र उपस्थित दर्शकहरुबाट अनेकौँ उपायमध्येबाट उचित उपायबाट समस्याको समाधान गरिन्छ । 
१५ जनाको जम्बो टोली लिएर फोर्स गाडी हुँकियो गौशला, कोटेश्वर हुँदै सिन्धुपाल्चोक र काभ्रेको विभिन्न ठाउँको लागि । हाम्रो बेलुका सिन्धुपाल्चोकको टिम्बु भन्ने ठाउँमा नाटकको पहिलो शो भयो या भनौँ एउटा सामाजिक क्रान्तिको नाट्य अभियानले पहिलो पाइला अघि सार्यो । केटाकेटी, बुढाबुढी, युवायुवती सबको उपस्थिति थियो । गललल हाँसोको बाढी बग्यो । महसुस हुन्थ्यो अब समस्याहरु बगेर जानेछन् उनीहरुको जीवनबाट । उनीहरु हिमाल मुस्कुराएझैँ मुस्कुराउनेछन् पाखापखेरामा । नाटक कचहरीको पार्टमा पुगेपछि सुरु हुन्छ यथार्थ घट्नाहरु । एक क्षणलाई लाग्यो मान्छेहरु उपाय खोज्न डराउँछन् । दोषीलाई सजाय दिन डराउँछन् । एक पललाई डर र अन्योलताले वातावरणलाई हेराहेर मात्र बनायो । सुत्रधारबाट बोल्नको लागि हौसलाको नदी बगे । जब हौसलाको नदी बग्छ तब भत्कीन्छन् जस्तै बाँधहरु पनि । एक जना सर बोल्नु भयो । अघि देखि नबोल्नुको कारण रहेछ । त्यहाँ आमा समूह रहेछ र त्यसको सदस्यहरु त्यहाँ उपस्थित हुनुहुँदोरहेछ । उहाँहरु बोल्ने आशमा सर मौन बस्नु भएको रहेछ । सरले बाटो खुलाईदिनु भयो । आवाजहरुको आन्दोलन आयो दर्शकबाट । हामी यही चाहान्थ्यौँ । समाजको विकृति र कुरितिको विरुद्ध मौन भई दबेका आवाजहरु उठ्नु पर्छ । 
पहिलो रात मेलम्चीमा बस्यौँ । समयसँग २५ रात २५ दिनको बुकिङ गरेको थियो हाम्रो यात्राले । विकासतिर लम्किएको पाखापखेराका बाटाहरुले हाम्रो स्वागत स्वरुप धुलो नउढाएको कुनै दिन भएन । गाउँघरको धुलो आर्गनिक हुन्छ भन्नु हुन्थ्यो जगत जी । जगती हाम्रो यात्राको स्थानीय सहयोग कर्ता हुनुहुन्थ्यो र उहाँ नवबुद्ध एफ.एमको तर्फबाट रिपोर्टर पनि । राजधानीमा आर्गनिक त मान्छे पनि छैनन् । 
तपाईहरु हाम्रो गाउँमा चेतनामुलक नाटक लिएर आउनु भएकोमा हामी खुसी छौँ भन्दै गाउँलेले फुलमाला लगाईदिएर नाटक र कलाकारलाई स्वागत गर्दाको क्षण साँच्चै नै अविस्मरणीय छ । हृदयको क्यानभाषमा पोतिएको छ त्यो समय । खुसीको आँसुले सिचाइँ भएको थियो प्रफुलिल्त छातीहरु । हसौला बाँड्न हिँडेको हामी कलाकारहरुलाई उनीहरुले झन ठूलो हसौला दिए । हामीले त्यस क्षणलाई क्यामेरामा कैद गर्नलाई छुटाएनौँ । 
जसरी समय अनवरत छ त्यसरी नै हाम्रो यात्रा अनवरत चल्यो २५ दिनको लागि । सर, धेरै चिसो छ, बालबच्चालाई अप्ठेरो छ हजुर, अस्तिभर्खर यहाँ दुईजनालाई अनैतिक यौनसम्बन्ध राखेकोमा गाउँ निकाला गरि धुलिखेल प्रहरी चौकीमा जिम्मा लगाइयो, यहाँ ६५ वर्षको बुढाले १३ वर्षको बालिकालाई बलत्कार गरेकोले जेल हालियो, अहिले पनि जेल मै छ । तर उसलाई जेलसम्म पुर्याउन भने हम्मे पर्यो । राहत बाड्ने काममा अनियमितता भएको कुरा आयो । भूकम्पपछि निर्माण भएका यी घट्नाहरु हाम्रो अहिलेको समाजको चित्रण नै हो भन्ने मलाई लाग्छ । सामाजिकता हराएको छ । मानवीयता हराएको छ । संवेदनशीलता हराएको छ । मानिसहरु अमानव हुँदै छन् र समाज असमाज भइरहेको छ । यस्तो संवेदनशील अवस्थामा सरकार अघोषित नाकाबन्दीको अनौठो नाटक देखाईरहको छ । जनता अन्योलमा छन् सरकारको यस्तो नाटकमा हास्ने कि रुने ? अझ भनौँ गाउँघरको जनतालाई त सरकारको रेडियो नाटकको क्लाईमेक्स सिन सुन्ने कि घरभित्र छिर्दै गरेको चिसो छेक्ने भन्ने झन ठूलो अन्योल छ । 
यात्रा एउटा यथार्थको विश्वविद्यालय हो । यो पालीको यात्राले समस्यैसमस्याका आवाजहरु समेटेर अध्ययनको एउटा ठूलो कपी भरियो । निष्कर्षमा राज्यसत्ता क्रान्तिभन्दा सामाजिक क्रान्तिको आवश्यकता देखियो । गाउँमा गाउँमा नाटक त्रिपाल ओडाउनु छ । यस पटक गाउँगाउँमा त्रिपाल पुर्याउन सहयोग गर्ने स्वीस एम्बेसीलाई हृदय देखि धन्यवाद । मन भित्र अझै अपेक्षा छ गाउँगाउँमा त्रिपाल पुर्याउने । 

2 comments:

  1. प्रयास राम्रो छ भाई । लेख्दै जाउ, लेखनमा निखारता आउने नै छ । उज्ज्वल भविष्यको कामना ।

    ReplyDelete