Monday, April 4, 2016

यादहरु


ए ! ए !
पुराना यादहरु आए
वनका पुराना पातहरु उडाउँदै आए
पदछापका धुलोहरु उडाउँदै आए
सुदुर क्षितिजका बादलहरुलाई
कालोनिलो बनाउँदै आए
जस्तो कि म त्रासमा हुँदा
मेरो अनुहार थियो ।
पसिना निस्केका थिए
जिन्दगी देखेर जिन्दगीकै त्रासमा
आए फेरि आए
हरेक एक एक बुंद जोडिएर
झरी बनेर आए
ए ! ए !
पुराना यादहरु आए
सहनै नसक्ने गरि आए
खहरैझैँ उर्लिएर आए
मुस्कानले बाँधेका बाँधहरु
भत्काउने गरि आए
देख्दै गरेको संसार बगाउने गरि आए
भविष्यका उज्यालाहरु
धमिलो हुने गरि आए
ए ! ए !
पुराना यादहरु आए
जति नआओस भन्छु
उति आउँछ
आकाशमा बादलका आकृतिहरुमा
दिनदहाडै बोक्सी भनेर
सभ्यताको आची खुवाइएको
ममता दिँदादिँदा खुम्चिएको
ममतामयी आमाको मुहारको यादहरु आए
सहरका कोलाहलहरुमा
सडक बालक र सेभ द चिल्ड्रेनका
भोका आवाजहरु आए
पत्रिकाका पानाहरुमा
उहिल्यै श्री ३, श्री ५ हरुद्वारा
हिजोअस्ति सामूहिक बलत्कृत
निश्चल बालिका, युवतीहरुको चित्कार आए
मान्छेका मास्क लगाएका अनुहारहरुले
श्री ५ आउनु भन्दा अगाडिका
यादहरु आए
ए ! ए !
पुराना यादहरु आए
कसैले त रोकिदियोस्
यी यादहरुलाई
आजकाल म
लोकतान्त्रीक राज्यको सडकमा बसेर
विभत्स यादहरुको चिता जलाइरहेको छु ।

Thursday, February 18, 2016

सुत्रबद्ध शासन



मौलिकताको आवाज
तिमीबाट जस्तो निस्किन्छ
मबाट नि त्यस्तै निस्किन्छ
समुद्रबाट उकुसमुकुस भएर बाफहरु
तिम्रो शिरमाथिको
आकाशमा जसरी बादल बनि
स्वतन्त्र उड्छन् त्यसरी नै उड्छन्
मेरो शिरमाथीको आकाशमा
निरङ्कुशताले जकडिएको तिम्रो शासन
जसरी हरेक दिन सास लिन्छ
गरिब किसानले हुर्काएको विरुवाबाट
त्यसरी नै सास लिन्छन् उनीहरुको सन्तानले
विचारको आलीमा बसेर
र छर्छन्
जिन्दगीको बारीभरि स्वतन्त्रताको विउ
र सिञ्चित हुन्छ
नयाँ जोस नयाँ आवेगका पसिनाहरुले
फुल्दछ हरेक दिन त्यहाँ
आलीमा बसेकाहरुको लागि
सुन्दर फुलहरु
जसरी एउटा इमान्दार क्रान्तिपछि
उदाउँछ स्वतन्त्र दिनहरु
समय अनुसार जनताका तन्त्रहरुको
परिभाषा फेरिन्छन्
हिजो प्रजातन्त्र थियो
आज गणतन्त्र छ
आखिर तन्त्र त
जनतामाथिको सुत्रबद्ध शासन न हो ।

Wednesday, February 10, 2016

लिसन टु द साउन्ड अफ साइलेन्स


आवाज बिहीन आवाजमा जीवनको पूरै कोलाहल हुन्छ तर शान्त हुन्छ । समुद्र जस्तै, हिमाल जस्तै, ताराहरु जस्तै, फुलहरु जस्तै , पुरै सहर छोप्ने हुस्सु जस्तै । शान्त हुस्सुले अस्तव्यस्त सहरलाई छोपेको छ । हुस्सुभित्र लुकेर गाडीहरु पेट्रोल, डिजेलको लाइनमा छन् । एक कप चियाको बाफसँग मान्छेको जाडो उड्दै छ । तिनकुनेको चौरमा सात जना सात कुना पारेर बसेका छन् । एउटा ट्राफिक, एउटा पागल, ड्राइभर, खलासी आदि । प्लाष्टिक र कागज बालेर तापिरहेछन् त्यो दिनको दिनचर्या । म बसको अन्तिम सिटमा छु ।  बस रुइँकिएको छ रिंगरोड घुम्न । मेरो स्टेसन हो गौशला । जहाँ महादेवको स्टशन छ पशुपति । ईश्वरको भव्य स्टेशनलाई पछि पार्दै म हिँड्छु अफिसतिर मान्छेहरुको भिडको आवाज छिचोल्दै । 
शिल्पी बाहिर नै भेट भयो कुमार सर र युवराज दाईलाई । एक हप्ता अगाडि गरेको छुट्टीको कुरालाई अगाडि बढाए । उहाँहरुबाट तिनदिनको छुट्टीको स्वीकारुक्ति आयो । तिनदिनको छुट्टीलाई कसरी र कहाँ विताउने योजना बनेको थिएन दिमागमा । के गर्ने होला ? अन्योलमा परे । त्यसपछि एक जना साथीलाई फोन लगाए । उसको समय अलि व्यस्त भएको जानकारी आएपछि मन झन अन्योलमा पर्यो । एकै छिनको सोचपछि पोखरा एक्लै घुम्ने निर्णय गरे । अफिसको कामहरु हतारहतार सकेर साँझमा पोखरा जाने माइक्रो समात्ने ध्याउन्नमा मन जान थाल्यो । मनले माइक्रो नसमाति पोखरा पुगिसकेको थियो तर यो शरिर लान बाँकि थियो । त्यस्तै एक बजेको हुँदो हो । अर्को साथीको नाटक हेर्न जाने प्रस्तावसहितको फोन आयो । 
आज बेलुका मण्डलामा नाटक हेर्न जाउँ न ।
म भ्याउँदिन होला यार ।
किन भ्याउँदैनौ ? के काम छ र ? 
मेरो पोखरा जाने योजना उसलाई नसनाउँ जस्तो लागेको थियो । मैले उसलाई अर्कै कुराले असफल ढाँट्ने प्रयास गरेँ ।........
हिजो पनि नाटक हेर्न अफिसबाट चाँडै निस्केको थिएँ, सो आज चाँडै निस्कन मिल्दैन ।
के को नमिल्नु आफ्नै अफिस हो मिलाउन ।
हे हे त्यो त हो तर......
अरु कुरा केही होइन भरे नाटक हेर्न गइन्छ । बरु टिकट मिलाउँदै गर ।
हैन, खासमा म पोखरा जान लागेको यार । 
को को ? 
अहिलेसम्म त म एक्लै छु । 
त्यसो भए एक मिनेट पर्ख । म तिमीलाई कलब्याक गर्छु । 
उसले एक मिनेटपछि कलब्याक गर्यो । पोखरासँगै जाने भैयो । उ समेत गरेर तिन जना आउने भए । म एक जना । जम्मा चार जना भयौँ पोखरा जाने । कलंकीबाट माइक्रो चढियो । दमौली आएपछि भने माइक्रोले जामको खेतिको लाइनमा बस्नु पर्यो । हामी पोखरा पुग्ने भनेको निर्धारित समय भन्दा ढिलो पुग्ने पक्का भयो । 
मानिसहरु रातसँग निद्राको सम्झौता गरेर विश्राम गरिरहेको बेला मलाई भने रातको सन्नाटासँग कुुरा गर्न मन लाग्छ । अँध्यारोमा लुकेर चन्द्रामाको सुन्दरतामा मदहोस हुन मन लाग्छ । यस्तै इच्छाले मलाई माइक्रो रोकिएको ठाउँबाट हिँडेर जान प्रेरित गरिरहेको थियो । साथीहरुलाई आफ्नो इच्छा सुनाएँ । एकछिनको आनाकानी पछि सबै जना हिँड्ने भैयो । चिसो रात, पौने बाह्र बजेको हुँदो हो । केही परसम्म गाडीहरु लामबद्ध थिए । अनि थिए लाचार मानिसहरु । चुपचाप चुपचाप । सबै अन्धकार । चार जना गफिदै हिँडेको समय । लाग्थ्यो संसारमा हामी चार जना मात्रै छौँ । कुकुरको भुकाइहरु, घरिघरि आएको गाडीको लाइटको उज्यालो, खुल्ला फाँट जस्तो लाग्ने ठाउँमा लागेको बाक्लो हुस्सु । सुनौलो विहानी दिन तम्तयार खटिएको अन्धकार । लाग्थ्यो आत्मालाई बाहिर बोकेर हिँडेको छ शरिर । कति हिँडियो, कुन ठाउँ आइपुग्यो केही थाहा छैन । रातको दुइ बजेपछि हामी फेरि माइक्रो चढ्याँै । त्यतिबेला सम्ममा हामीले दस किलोमिटर हिँडेको रहेछौँ । पोखरा बसपार्क पुग्दा तिन बजेको थियो । पोखरामै भएको साथीसँग भने सम्पर्क हुन सकिरहेको थिएन । उ वाणिज्य बैंकको कर्मचारी भएकोले उसलाई विहानै बैंकमा गएर भेट्न कुरा गर्दै हामी निदाएका थियौँ । पोखरा व्युँझि सकेको थियो । हामी बसपार्कलाई छोडेर पृथ्वीचोक तिर लम्कियौँ । सिधा साथीको अफिस । उसकै अफिसमा उसलाई कुनै सुचना बिना भेट्दा उ भन्ने निक्कै अचम्ममा परेको थियो । उ जति अचम्ममा परेको थियो भन्दा बढि हामी रिसाए जस्तो नक्कलमा थियौँ । हाम्रो रिस बडा मजाको छ । त्यहीँ योजना बन्यो पोखरालाई पुरै घुम्ने । पोखराको शान्ति स्तुपा हाम्रो पहिलो गन्तब्य बन्यो । त्यसपछि फेवाताल, डेभिस फल, बेग्नासास ताल । बेगनास तालमा चाहिँ आफै डुंंगा चलायौँ । पहिलो चोटि आफै डुंगा खियाउँदा निकै रमाइलो लागेको थियो । नियन्त्रण गर्न निकै गाह्रो । आफ्नै जिन्दगी हिँड्ने साधनको नियन्त्रण गरे जस्तै । कति गाह्रो छ आफ्नो जिन्दगीलाई गन्तब्यसम्म खियाउन । संसार एउटा विशाल ताल न रहेछ । अनि जिन्दगीहरु डुंगा रहेछन् । हामी डुंगा खियाउने माझी । जिन्दगीको चाल पहिल्याए एउटा बाटो पकड्ने रहेछ यात्राले नभए अल्मलिएको अल्मलियै हुने ताल विच । डर, त्रास, समस्या आदि आदि बोकेर । 
खासमा म पोखरा एक्लै जान खोज्नुको कारण थियो । म यात्राभरि आफैसँग र प्रकृतिसँग गफिदै प्राकृतिक जिवनको रसस्वादन गर्न चाहान्थे । जिवनको अध्यात्म खोज्न चाहान्थे । साथीहरुसँगै भएपनि मेरो आत्मा प्रकृतिसँग रमाईरहको थियो । साथीहरुसँग भन्दा आफैसँग बढि गफिएको थियो । जब साथीहरुसँगै म शान्ति स्तुपा पुगेँ । त्यहाँ लेखिएको थियो । लिसन टु द साउन्ड अफ साइलेन्स । मन छोयो । कस्तो राम्रो । लिसन टु द साउन्ड अफ साइलेन्स । मैले मेरो पच्चीस सय वर्ष अघिको मित्र सम्झिएँ । गौतम बुद्धलाई । हे मेरो लगायत सबैको इश्वर बुद्ध सम्बन्धको विसंगतबाट व्युँझेपछि मैले तिमीलाई मित्र भनेको छु । हुन त मित्रताको परिभाषा, भाषा, आसा, प्रभाव, अभावको त्यति गहिरो ज्ञान छैन मलाई । २५ सय वर्ष अघि जन्मेको तिमी भगवान भैसकेको छौ । जिन्दगीको शुन्यतामा शुन्यसरि विलाउन दरबार छोडेर हिँडेको साधारण मानिस थियौ तिमी । आज म तिमी जन्मिएको २५ सय वर्षपछि जन्मिएको छु । २५ सय वर्ष अघिको साधारण मानिस तिमी २५ सयवर्ष वित्दा भगवान भएको इतिहास साक्षी राख्दै तिम्रो मित्र अर्थात मेरो जन्म भएको हो । शुन्यमा शुन्यसरि हुन मन लागेको छ । साउन्ड अफ साइलेन्स सुन्न मन लागेको छ । त्यसकै खोजिमा छु निरन्तर । तिम्रो संगत गर्न अब तिमी छैनौ । तिमीलाई थाहा छैन तिम्रो सन्यासी प्रतिमाहरु महल भित्र छन् । सांसारिक भ्रम तिव्र भएको छ मानिसहरुमा । अज्ञानताको बादलले ढाकेको छ जगतलाई । म त्यही बादल मुनि अन्योल जिन्दगी लिएर उभिएको छु । थाहा छैन जुनबेला नि वर्षन सक्छन् अज्ञानताका बादलहरु मेरो चेतनाको जगतमा र जिन्दगी उभिनसक्छ निथ्रुक्क भिझेर मृत्युको अगाडि । डर लाग्छ आजकाल मृत्युले जिन्दगीलाई गिज्याउँछ भनेर । चट्टान भन्दा नि कडा छ सांसारिक अज्ञानतको पर्खाल । मानिसहरु मिथ्या ठान्दछन् जिन्दगीको शुन्यतालाई । हे मित्र तिमी कहिँ कतै छौ होला यो विशाल ब्रहमाण्डको शुन्यतामा । तिमी छक्क परिरहेको छौ होला तिमीलाई मित्र भनेर सम्बोधन गरिरहँदा । तिमी जस्तै छक्क परेको छ यो समाज । २५ सय वर्ष अघि र पछि जन्मेका मानिस कसरी मित्र हुन सक्छन् ? मित्र हुन त संगत चाहिन्छ । तर मैले तिमीसँग विसंगतको संगत गरेको छु । त्यही भएर त महसुस गर्नसक्छु । तिम्रो शान्ति स्तुपामा लेखिएको लिसन टु द साउन्ड अफ साइलेन्स । हो यतिबेलै मैले सुनेको थिएँ तिम्रो र मेरो सम्बन्धको आवाज । अनि मैले सुन्न थालेको थिएँ, माछापुच्छ्रे र फेवातालबीचको संवाद । लगत्तै मेरो मनभरि गुञ्जिएको थियो त्यस्तो आवाजहरु जसको आवाज हुँदैन । लास भएको मानिसबाट आउँदै थियो जिन्दगीको आवाज, घरबाट आउँदै थियो बन्धनहरुको आवाज, चिताको अग्निबाट आउँदै थियो जिन्दगीको गतिको आवाज, रातको अन्धकारबाट आउँदै थियो सन्नाटाको आवाज, फुलहरुबाट आउँदै थियो सुन्दरताको आवाज, पन्छीहरुबाट आउँदै थियो स्वतन्त्रताको आवाज, मुर्तिहरुबाट आउँदै थियो मृत इश्वरको आवाज । यी आवाजहरुको कुनै सांसारिक कोलाहल हुँदैन । अक्सर यी आवाज सुन्नेहरु फकिर हुन्छन् । बादल, हावा, नदि जस्तै फकिर यात्री हुन्छन् । आवाज विहीन आवाजमा जीवनको पुरै कोलाहल हुन्छ तर शान्त हुन्छ । हिमाल जस्तै, समुद्र जस्तै, ताराहरु जस्तै । तिम्रै स्तुपाहरुमा लेखिएको, तिम्रै मनमा लेखिएको, तिम्रै आत्मामा लेखिएको लिसन टु द साउन्ड अफ साइलेन्स जस्तै । शुन्यमा शुन्यसरि..............

Friday, January 29, 2016

                         गजल
तिमी जहाँ भएनि हाम्रो बित्ने रात एउटै हुन्छ ।
नाम लेखेर बगाउने हाम्रो पात एउटै हुन्छ ।

रोमियो जुलियट, लैला मज्नु, तिमी र म
संसारको जुन प्रेमको पनि जात एउटै हुन्छ ।

न गर्नु है पीडा जिन्दगीसँग बाँच्नै गाह्रो हुन्छ
जसले जसलाई दिए पनि घात एउटै हुन्छ ।

तिमी र म जहाँ जहाँ भएर लेखे पनि सम्झना
तिम्रो र मेरो मायालु चिठ्ठीको खात एउटै हुन्छ ।

                 गजल
हराएर मलाई रोजेको तिमीले जित कस्तो होला ।
बेचेर मुटु अनि खोज्ने प्रेम तिम्रो रित कस्तो होला ।

जिन्दगी किनारमा हिँड्यो तिमीलाई मुल बाटा बनार
आफ्नैलाई लछारी पाएको तिमीले हित कस्तो होला ।

तिम्रो सादा गुलाफ रातो बनाउन बगेको रगत
चुहिएर तिम्रो आगनमा बनेको शीत कस्तो होला ।

               गजल
भर्खर त तिम्रो आगनमा उजेली चहिदै थियो ।
तिमी र म बीच फलेको प्रेम बृक्ष नुहिदै थियो ।

पत्तो नै पाएनौ तिमीले नयाँ पालुवा पलाएको
बिस्तारै जिन्दगीको पतिङ्गर सबै कुहिदै थियो ।

भन्थेउ तुवाँलो लाग्यो जिन्दगीको क्षितिजसम्म
भर्खरको वर्षातले मौसम सबै धुइदै थियो ।

Thursday, January 28, 2016

मौनताको आवाज


निस्पट्ट अन्धकार व्युँझेपछि
व्युँझन्छन् ताराहरु र
दुर शुन्यताबाट पठाइदिन्छन्
अस्पष्ट लाग्ने सपनाहरु ।

मेरो हत्केलाहरुले
सहरलाई टप्पटिपेर पोतिदिन्छ
इतिहासको पानामा
र लेखिदिन्छ
एक्काइसौँ शताब्दीको अस्तित्व विहीन चिहान ।

सपनाभरि युद्ध गरेर व्युँझेपछि
थाहा पाउँछु
म त त्यही सहरमा रहेछु
आँखाको नानीबाट
क्षितिजका बादलहरु फाटेर गएपछि
लगातार बग्छ जिन्दगी
जिन्दगी कै किनारै किनार ।

अक्सर त्यही किनारमा
उभिएर जिन्दगीले
मौनताको आवज सुन्ने गरेको छ ।

Wednesday, December 30, 2015

नाट्य यात्राको अनुभव


दिनहरुमा यात्रा गरेकि यात्राहरुले दिन कटायो यो भन्न मुस्किल छ । खैर एउटा नाट्य यात्रा सुरु भयो शिल्पीबाट । राजधानीमा चिसोले जिस्कीन सुरु गरिसकेको थियो । हामी मान्छे पनि कम कहाँ थियौँ र हातमा पञ्जा, टोपी ज्याकेटले चिसोसँग लुकामारी खेल्थ्यौँ । लुकामारी जिन्दगीमा विभिन्न किसिमले हुन्छ । जिन्दगी रितुहरुसँग खेलिरहेको बेला हल्लियो जमिन, काँप्यो घर, काँपे मन मुटुहरु । त्रासका चित्कारहरुले गुञ्जियो राजधानी अनि गुञ्जियो पाखापखेराहरु । बालक, युवा, बृद्धा जो कोही परे मृत्युको महामेलामा । एकपललाई मृत्युको बजार राम्रै चल्यो । मृत्यु अझै बजार विकास खोजी रहेको थियो हामी जीवन खोजीरहेका थियौँ । समाचारहरु दगुर्न थालका थिए राजधानीको धरहरादेखि बारपाकको केन्द्रविन्दुसम्म । कतै च्यापिएका मृत मानिसहरुको तस्विर बोकेर । कतै च्यापिएका जीवित मानिसहरुको तस्विर बोकेर । कतै भग्नावशेषमाथि बगेको आँसुको भेलको तस्विर बोकेर । नागरिक, कान्तिपुर, अन्नपूर्ण भ्याइनभ्याइ दगुरे । गाउँ र सहरको संगीत भनेको एम्बुलेन्सको साइरन मात्र थियो । देश दर्दनाक कोलाजको परिस्थितीमा जिउँदो शालिक बनेको थियो । जनता देशभित्रै विस्थापित भए । कहाँ कहाँ विस्थापित भए सरकार बेखबर थियो । हरेक दिन पत्रिकामा भत्केका मठ मन्दिर घरका तस्विर आउँथे । भत्केको समाजको तस्विर कहाँ छापियो र ? घरभित्रै व्यक्ति विस्थापित भयो । समाजभित्रै घर विस्थापित भयो । देशभित्रै समाज विस्थापित भयो । विस्थापित भएका पिडीत जनताहरुलाई सरकारले माग्नेलाईझैँ एक मुठी चामलको आश्वासन दियो । विचरा सरकार अलि भावनामा बहकिएछ कि के हो यथार्थलाई बुझ्न सकेन । आठ महिना अर्थात दुइ सय चालीस दिन सरकार चामल केलाएर बसिरह्यो । परिणाम स्वरुप राजधानीमा भात पाक्छ तर ग्यासको सट्टा दाउरा बल्छ । पाखापखेरामा पनि दाउरा बल्छ तर भात पाक्दैन । समस्याको खेती व्यापक रुपमा फैलियो । जताततै समस्यै समस्या हुन थाले । 
चोरी, डकैती, बलत्कार, हत्या आदि समस्याको खेती गर्दै यहाँसम्म चलिआएको हाम्रो समाज । अझै पनि हाम्रो समाज चिन्तनलाई बलत्कार गरेर सुँगुरको स्वर्ग जाने कथनमा आदर्श खोजिरहेको छ । भूकम्पको धक्का घरको भित्तादेखि मनमस्तिष्कको भित्तासम्म ठोकिएको थियो । पिडामा मानिसहरु सहयोगी बनेका थिए । एक प्रकारको व्यवहारिक आदर्श भावनाहरु जागृत भएको थियो । लाग्थ्यो यो भावनाले सिर्जीत नयाँ समाजको संरचना पक्कै राम्रो हुन्छ । तर भावनाहरु हराए । समस्या जस्ताको तेस्तै छ । 
म भन्दै थिएँ चिसोले राजधानीलाई छोपेको छ । असलमा चिसोले सम्पूर्ण देशलाई छोपेको छ । तर भत्किएका घरहरुले, मन भत्किएका बाबुआमाले आफ्नो छोराछोरीलाई न्यानोपनले छोप्न सकेका छैनन् । सरकार भने मधेस आन्दोलनको आवेगले तातिएको छ । न मधेस आन्दोलनलाई सहीबाटो दिन सकेको छ सरकारले न चिसोले काँपेका जनतालाई न्यानो बाँड्न सकेको छ । सरकारले गरेको छ त केवल आश्वासनको खेती । त्यही आश्सनको खेतीमा झिनो आसाको त्यान्द्रो बोकेर टोलाईरहेकाहरुलाई आत्मबल र हौसला दिन तयार गर्यौँ हामीले त्रिपाल नाटक । शिल्पी र सेलो थिएटरको साथीहरु मिलेर नाटकद्वारा गर्न सकिने सामाजिक क्रान्तिमा निस्कन तयार भयौँ । हाम्रो उद्देश्य थियो अनुहारमा हाँसो ल्याउनु र पुर्ननिर्माणको लागि हौसला र आत्मबल दिनु । हाम्रो नाटक कचहरी शैलीको थियो । जहाँ समस्या देखाइन्छ र उपस्थित दर्शकहरुबाट अनेकौँ उपायमध्येबाट उचित उपायबाट समस्याको समाधान गरिन्छ । 
१५ जनाको जम्बो टोली लिएर फोर्स गाडी हुँकियो गौशला, कोटेश्वर हुँदै सिन्धुपाल्चोक र काभ्रेको विभिन्न ठाउँको लागि । हाम्रो बेलुका सिन्धुपाल्चोकको टिम्बु भन्ने ठाउँमा नाटकको पहिलो शो भयो या भनौँ एउटा सामाजिक क्रान्तिको नाट्य अभियानले पहिलो पाइला अघि सार्यो । केटाकेटी, बुढाबुढी, युवायुवती सबको उपस्थिति थियो । गललल हाँसोको बाढी बग्यो । महसुस हुन्थ्यो अब समस्याहरु बगेर जानेछन् उनीहरुको जीवनबाट । उनीहरु हिमाल मुस्कुराएझैँ मुस्कुराउनेछन् पाखापखेरामा । नाटक कचहरीको पार्टमा पुगेपछि सुरु हुन्छ यथार्थ घट्नाहरु । एक क्षणलाई लाग्यो मान्छेहरु उपाय खोज्न डराउँछन् । दोषीलाई सजाय दिन डराउँछन् । एक पललाई डर र अन्योलताले वातावरणलाई हेराहेर मात्र बनायो । सुत्रधारबाट बोल्नको लागि हौसलाको नदी बगे । जब हौसलाको नदी बग्छ तब भत्कीन्छन् जस्तै बाँधहरु पनि । एक जना सर बोल्नु भयो । अघि देखि नबोल्नुको कारण रहेछ । त्यहाँ आमा समूह रहेछ र त्यसको सदस्यहरु त्यहाँ उपस्थित हुनुहुँदोरहेछ । उहाँहरु बोल्ने आशमा सर मौन बस्नु भएको रहेछ । सरले बाटो खुलाईदिनु भयो । आवाजहरुको आन्दोलन आयो दर्शकबाट । हामी यही चाहान्थ्यौँ । समाजको विकृति र कुरितिको विरुद्ध मौन भई दबेका आवाजहरु उठ्नु पर्छ । 
पहिलो रात मेलम्चीमा बस्यौँ । समयसँग २५ रात २५ दिनको बुकिङ गरेको थियो हाम्रो यात्राले । विकासतिर लम्किएको पाखापखेराका बाटाहरुले हाम्रो स्वागत स्वरुप धुलो नउढाएको कुनै दिन भएन । गाउँघरको धुलो आर्गनिक हुन्छ भन्नु हुन्थ्यो जगत जी । जगती हाम्रो यात्राको स्थानीय सहयोग कर्ता हुनुहुन्थ्यो र उहाँ नवबुद्ध एफ.एमको तर्फबाट रिपोर्टर पनि । राजधानीमा आर्गनिक त मान्छे पनि छैनन् । 
तपाईहरु हाम्रो गाउँमा चेतनामुलक नाटक लिएर आउनु भएकोमा हामी खुसी छौँ भन्दै गाउँलेले फुलमाला लगाईदिएर नाटक र कलाकारलाई स्वागत गर्दाको क्षण साँच्चै नै अविस्मरणीय छ । हृदयको क्यानभाषमा पोतिएको छ त्यो समय । खुसीको आँसुले सिचाइँ भएको थियो प्रफुलिल्त छातीहरु । हसौला बाँड्न हिँडेको हामी कलाकारहरुलाई उनीहरुले झन ठूलो हसौला दिए । हामीले त्यस क्षणलाई क्यामेरामा कैद गर्नलाई छुटाएनौँ । 
जसरी समय अनवरत छ त्यसरी नै हाम्रो यात्रा अनवरत चल्यो २५ दिनको लागि । सर, धेरै चिसो छ, बालबच्चालाई अप्ठेरो छ हजुर, अस्तिभर्खर यहाँ दुईजनालाई अनैतिक यौनसम्बन्ध राखेकोमा गाउँ निकाला गरि धुलिखेल प्रहरी चौकीमा जिम्मा लगाइयो, यहाँ ६५ वर्षको बुढाले १३ वर्षको बालिकालाई बलत्कार गरेकोले जेल हालियो, अहिले पनि जेल मै छ । तर उसलाई जेलसम्म पुर्याउन भने हम्मे पर्यो । राहत बाड्ने काममा अनियमितता भएको कुरा आयो । भूकम्पपछि निर्माण भएका यी घट्नाहरु हाम्रो अहिलेको समाजको चित्रण नै हो भन्ने मलाई लाग्छ । सामाजिकता हराएको छ । मानवीयता हराएको छ । संवेदनशीलता हराएको छ । मानिसहरु अमानव हुँदै छन् र समाज असमाज भइरहेको छ । यस्तो संवेदनशील अवस्थामा सरकार अघोषित नाकाबन्दीको अनौठो नाटक देखाईरहको छ । जनता अन्योलमा छन् सरकारको यस्तो नाटकमा हास्ने कि रुने ? अझ भनौँ गाउँघरको जनतालाई त सरकारको रेडियो नाटकको क्लाईमेक्स सिन सुन्ने कि घरभित्र छिर्दै गरेको चिसो छेक्ने भन्ने झन ठूलो अन्योल छ । 
यात्रा एउटा यथार्थको विश्वविद्यालय हो । यो पालीको यात्राले समस्यैसमस्याका आवाजहरु समेटेर अध्ययनको एउटा ठूलो कपी भरियो । निष्कर्षमा राज्यसत्ता क्रान्तिभन्दा सामाजिक क्रान्तिको आवश्यकता देखियो । गाउँमा गाउँमा नाटक त्रिपाल ओडाउनु छ । यस पटक गाउँगाउँमा त्रिपाल पुर्याउन सहयोग गर्ने स्वीस एम्बेसीलाई हृदय देखि धन्यवाद । मन भित्र अझै अपेक्षा छ गाउँगाउँमा त्रिपाल पुर्याउने । 

Wednesday, November 11, 2015

आस्था र भगवानहरू


साँझको समय छ । मन्दिरको भित्तामा एउटा हातले अडेस लागेको छु
। भगवानहरू सधै निदाएको ठाउँ हो मन्दिर । जहॉ मान्छेहरु निदाएको
भगवानसँग भक्तिको हल्ला गर्छन् ।
मैले पनि आफूलाई हिन्दुत्वको भावले अडेस लागेको ठान्दछु ।
तिहारको मौसम छ । मान्छेहरुको अन्धोपन यो बर्स अली थपियो ।
झ्याललाइ पूरा पर्दाले ढाकेर घर झिलिमिलीले छोपेका छन् । उनिहरु
आफ्नो घर कहाँ बाट हेर्छन थाहा छैन । कि बन्द कोठामा बैभवको
घमण्डले धक्कु लगाइरहेका छन् बाँच्नु ऊपर । मलाई हासो आउछ
मूर्खता उपर । उसको वा उनिहरुको मुर्खता उपर हैन आफ्नै सोच वा
भनौं मानबीय चेतना उपर ।
साथीलाई दोस्रो पटक फोन गरे । यो समयमा भेट नहुने कुरा भयो ।
एक छिनको कुराइ, छेउमा मूर्तिमा लिन ईश्वर, मानवीयता माथि
अन्धोपन भएको आस्था । सबै कुरा दिमागमा आएर अलमल्ल परे ।
म बिच बाटोमा टवाल्ल भएछु । आस्थाहरुले भन्छ ईश्वरको वास
झिलिमिली वा भनौं उज्यालो ठाउँमा हुन्छ । मानिसहरु तेसै गरिरहेका
छन् । ईश्वर के गर्छन् मलाई थाहा छैन । थाहा नहुनु पनि
स्वाभाविक कुरा हो । यथार्थमा त ईश्वरको दैनिकीसँग नजिक हुन
पाइएको छैन ।
गुरु (देवकोटा) तपाईले अन्तिममा किन श्री कृष्ण एक भन्नु भयो ?
के तपाई जिन्दगीको प्रयोग गर्दागर्दै थाक्नु भयो ? कि मृत्यु हुने
क्रममा भएको शास्तीले मृत्युलाइ श्री कृष्ण एक भन्नु भएको ?
मृत्यु त मृत्यु नै हो यो तपाईलाई राम्ररी थाहा थियो । श्री कृष्ण
एक त मैले आजसम्म भेटेको छुइन । बाटोको छेउमा मार्बलले
बनाइएको ईश्वरको घर छ । मान्छेले त्यहाँ दुध चढाएर गयो भनुकि
पोखेर गयो भनौं । जे होस दूध धर्म बोकेर सडक तिर कुदिरहेको
थियो ।पानी होस् या दूध दक्षिण तिरै बग्छ । उत्तरमा एउटा पागल
होइन होइन श्री कृष्ण एक लडिरहेको छ । गुरु यो धर्म र नैतिकताको
बिरोधाभास मानवीयता हैन र ! छेउमा बैंक छ । छेउमै माग्ने छ ।
छेउमै रकमका भण्डार छन् । यो सामाजिक चेतनामाथिको ब्यङ्ग्य
होइन र ! कति बेअर्थपूर्ण छ हाम्रो मुर्खता र ज्ञान । बिग
मार्केटको अगाडी एउटा मान्छे भौके मर्छ यो नै त अमानवको
असमाजको मानवीय अब्स्ट्राक हो । मैले बग्दै गरेको धर्मको दूध
नागेछु । सुरक्षा गार्डले निर्जिब घर र रकमलाइ संरक्षण गरिरहेको
छ । छेउमा पागल भएर नाङ्गिएको हो की नांगिएर पागल भएको हो ।
जे होस् जाडोसँग जुहारी खेलेर होला हारेर लम्पसार छ ।होटल
दीपावली मनाउँदैछ इस्वरको निम्ति । मेरा आँखा मन मष्तिक छक्क
परेको छ । इस्वरको कृतिम रमझम देखेर ।